करिब ३० घण्टा भन्दा धेरै समय देखि पहिरोको कारण थुनिएको सुनकोशी नदिको बहाव हिजो नेपाली सेना लगायतको प्रयासमा ड्यामको केही भाग खुलाई पानीको बहावलाई सुचारु गराईएको थियो। करिब १४-१५ घण्टा पानी ताल बनेर बस्दा त्यस ठाउँमा करिब १ करोड १३ लाख ४० हजार घनमिटर पानी जम्मा भएर बसेको थियो (हाईड्रोलोजी डिपार्टमेन्टको रियलटाईम डाटा बाट अगस्ट १ रातिको बार्हबिसेमा भोटेकोशिको बहाव करिब १६० क्युमेक र सुनकोशीमा ५० क्युमेक का दरले १५ घण्टाको हिसाब गर्दा)।
आज बिहान सम्म आएका समाचारहरु हेर्दा नदिले आफ्नो गति लिएको भन्ने देखिन्छ, साथै नागरिक न्युजले प्रकाशितगरेको समाचारमा हिजो बनेको तलाउको लेभल अझै घटेन भनेर भनिएको छ।
यसै सन्दर्भमा यस संबन्धि बिज्ञ नहुदानहुदै पनि आफुले जानेका र बुझेका केही कुराहरु यहाँ शेयर गर्न मन लाग्यो।
पहिरोको प्रकृति फोटोहरुमा हेर्दा यसले नदिमा बनाएको ड्याम सयमिटर भन्दा धेरै फैलिएको जस्तो देखिन्छ जसको बिच भागमा मुख्यरुपमा माथीबाट आएका चट्टानहरु रहेको र त्यसको तल र माथिपट्टी सिल्ट, ग्राबेल, माटोहरुको पत्र बनेर बसेको हुनुपर्छ। हिजो पानीको बहाव शुरु भएसंगै पानीले आफैले खोतल्दैजाने क्रम पनि शुरु भएसकेको छ। ड्याम भन्दा तल्लो भाग पनि धेरै लामो भएकोले तलबाट खोतलिदै जाने क्रम (Back Erosion) भइरहेको हुनक्छ, यो क्रम शुरुका केही घण्टा छिटो अनि केहि समय अलि ढिलो हुनसक्छ। जुन कुरा त्यस ठाउमा बसेर अबलोकन गर्दा सजिलै थाहा पाउन सकिन्छ। यदि त्यसो पनि भएको छैन भने यो ड्याम स्थाई रुपमै बस्न सक्ने संभावना पनि बढेर जानेछ।
तल्लो भागबाट खोतलिने क्रम संगै ड्यामकै भागबाट पानी चुहिने क्रम पनि बढ्न सक्छ तर माथिल्लो भागको माटोले यसलाई केहि हद सम्म रोकेको हुन्छ। यससंगै ड्यामको आफ्नो स्ट्रेन्थ (बलियोपन) पनि घट्दैजानेछ र ड्याम जुनसुकै बेला फुड्नसक्ने संभावना रहन्छ।
यदि फेरी बम पड्काएर पानी खोल्ने प्रयास गरियो भने: यदि ड्याम स्थायी रुपमै बस्ने खालको रहेछ भने, अहिले सतह घटेन भनेर फेरी बम पड्काउने र खोल्ने प्रयास गरिंदा ड्यामले स्ट्रेन्थ गुमाएर एकै पटक नफुट्ला भन्न सकिन्न।
मेरो बिचारमा अहिलेको उपयुक्त समाधान:
पहिलो कुरा बिज्ञहरुबाट त्यस क्षेत्रको लगातार अबलोकन भईरहनुपर्छ जुन भइरहेको छ भन्ने बिश्वास छ। यससंगै माथि ऊल्लेखित दुई कुराहरुको नजिकबाट अबलोकन गरि सोहि अनुरुप कदम उठाउनु जरुरी छ।
पानीले तलबाट खोतल्दै गरेको क्रम:
यदि यो क्रम बढ्दै छ भने जतिसक्दो छिटो पानीको लेभल घटाउने कोशिस गरिनुपर्छ यसका लागी साना साना बिड्फोट पनि गर्नु उपयुक्त हुन्छ किन कि कुनै समय ड्याम फुट्ने लगभग निश्चित नै हुन्छ। संभव हुन्छ भने केही साईफोनहरु (मट्टितेलको ड्रमबाट पाईप लगाएर बाहिर तेल ताने जस्तो) पनि प्रयोग गरेर पानीको सतह केही घटाउदै जान सकिने समय हामीसंग रहन्छ।
यदि खोतलिने क्रम पनि छैन र पानीको सतह पनि घटेको छैन भने निरन्तर अनुगमनमा राख्दै अस्थाईरुपमै भएपनि ड्यामको बाहिरि भागमा हेलीकप्टरहरुको प्रयोगबाट सिमेन्ट पेस्ट छरेर केही बलियो बनाउन सकिन्छ जसले अब पर्ने पानी त्यहाँ छिरेर कमजोर मनाउन नपाओस।
हामीसंग भएका सिमित श्रोत साधनहरुबाट जति संभव छ हामिले त्यो ड्याम कति बलियो छ र यसमा के केति फरक परिरहेको छ भन्ने परिक्षण र अनुसन्धान गरिरहनु पनि जरुरी छ। यसका लागी कमसेकम हामीले सरकारसंग भएका सेस्मोमिटरहरु (भुकम्पको कम्पन मापन गर्न प्रयोग गरिने यन्त्र) २-३ वटा प्रयोग गर्न सक्छौं जसले जमिन भित्र भइरहेको कम्पनको जानकारी दिईरहन्छ। यसको प्रयोग तत्काल गर्न सकिने अबस्था छ जसबाट कुन रुपमा ड्यामको भित्रि भागमा या नजिकैको अन्य स्थानमा परिबर्तन आईरहेको छ भन्ने करिब पत्ता लगाउन सकिन्छ। यसका लागी ड्यामकै माथि गएर मापन गर्न त सकिदैन तर छेउको नजिकको सुरक्षित ठाउँबाट मापन गर्न सकिन्छ।
हामी बिचमा हिजै हुनसक्ने अर्को भयानक बिपत्ति केहि समय धकेलिएको छ तर यो समय नेपालका बिज्ञहरुको लागी निकै चुनौतिपुर्ण समयपनि हो जसले आफुलाई प्रमाणित गर्ने अबसर साथै ठुलो बिपत्तिबाट देशलाई बचाउने अबसर हो।
आशा छ सरकारी तबरबाट हुने सक्रियता र अध्ययनमा अझै सुधार आउदै यसलाई सुरक्षित तवरबाट टुंग्याउन सबै पक्ष सफल हुनेछन।