भुकम्प गएको करिब महिना दिन हुनलाग्दा सर्बसाधारण समेतले भुकम्पका बारेमा धेरै ज्ञान लिईसकेको देखिन्छ तर अझै पनि केही जिज्ञासा तथा भ्रमहरु परेको देखिन्छ। यस्तै केहि बिषयहरुमा केही प्रष्टपार्ने प्रयास गरेको छु।
मापनमा किन फरक पर्छ?
अमेरीकी भौगर्भिक सर्भे (USGS) ले संसारका प्राय सबै ठुला भुकम्पहरुका बारे अध्ययन गर्ने गर्छ, उसले आफैले पनि संसारका बिभिन्न ठाउँमा भुकम्प मापन गर्ने यन्त्रहरु राखेको छ। काठमाण्डौंमै पनि कान्तिपथको American Recreation Center मा एउटा भूकम्प मापन केन्द्र उसले राखेको छ। त्यस संगै अन्य ठाउमा राखिएका यन्त्रहरुले मापन गरेको जमिनको हल्लाईहरुको हिसाब गरेर कुनै पनि भुकम्प जाँदा कति शक्ति बाहिर निस्कियो भनेर हिसाब गर्ने र भुकम्पको मापन मोमेन्ट म्याग्निच्युड(Mw) स्केलमा दिने गर्छ। यसको लागी कति चट्टानको क्षेत्रफल, यो कति यता उता सर्यो, चट्टान कति बलियो छ भन्ने कुराहरुको हिसाब गर्ने गरिन्छ।
नेपालको राष्ट्रिय भुकम्प मापन केन्द्रले नेपाल भर २३ स्थानमा (वेबसाईटमा जनाए अनुसार) मापन यन्त्रहरु राखेको छ। भुकम्पको धक्का महसुस हुनासाथ यस्ता मापन केन्द्रहरुबाट कति समय र कसरी जमिन हल्लियो भन्ने तथ्यांक काठमाण्डौंको केन्द्रिय कम्प्युटरमा आउछ, यसरी आएका बिभिन्न ठाउँका तथ्यांकहरुको (जमिन कसरी हल्लियो भन्ने मात्र) आधारमा लोकल म्याग्निच्युड (ML) या रिक्टर स्केल को मापन गरिन्छ।
अमेरीकि संस्था या युरोपेली संस्थाहरुले दिने जानकारीमा Mw को प्रयोग गरिएको हुन्छ भने नेपालको राष्ट्रिय भुकम्प मापन केन्द्रले दिने जानकारीमा ML को प्रयोग गरिएको हुन्छ त्यसैले कहिले धेरै कहिले थोरै देखिने गर्छ। दुबैमा कुन चाहीं सहि हो भन्नेमा हामीले दुबै सहि भन्न सक्छौं तर यदि भुकम्प ६ रिक्टर भन्दा ठुलो छ भने Mw ईकाईले राम्रो संग यसको मापन गर्छ भन्ने मान्यता छ।
केहि तथ्य हेरौं कति फरक परेको छ नेपालको र बाहरिको एजेन्सिले दिएको तथ्यांकमा
केहि तथ्य हेरौं कति फरक परेको छ नेपालको र बाहरिको एजेन्सिले दिएको तथ्यांकमा
के हो परकम्प (Aftershock)
कुनैपनि ठुलो भुकम्प गईसकेपछि त्यसभन्दा साना तर त्यही क्षेत्रमा जाने अन्य कम्पनहरुलाई परकम्प (Afterschock) भनिन्छ। ठुलो भुकम्प जादा धेरै शक्ति बाहिर निस्कने र चट्टानमा ठुलो दरार पैदा हुने गर्छ। यसरी पैदा भएको दरार ले यो क्षेत्रकै पुरै चट्टानलाई कमजोर पारिदिन्छ यसले गर्दा चट्टानहरुमा सन्चित शक्ति धान्न नसकि साना साना चिराहरु पर्ने क्रम शुरुहुन्छ यसैकारण अन्य साना साना कम्पनहरु आउछन। यो भुकम्पको एक किसिमको नियम नै हो, ठुलो पछि साना साना आउने।
उदाहरणको लागी तपाईंले कुनै माटोको हाँडी लाई कुल्चेर फुटाउन खोज्नु भयो भने कसरी फुट्ला? पहिले बिचमा कुनै भागमा पुरै फुट्ला अनि केहि समय दबाईरह्यो भने साना साना टुक्राहरु पनि थप फुट्छन त्यस्तै नै क्रम हो परकम्प जाने पनि।
चल्ने हल्लाहरु
भुकम्पिय बिज्ञान बिकासकै चरणमा छ, भुकम्प जाने प्रक्रिया निकै जटिल हुन्छ। जमिन भन्दा कयौँ किलोमिटर तल रहेको चट्टानमा संचित शक्ति, प्रत्येक स्थानमा त्यसले धान्न सक्ने शक्तिको मात्रा, आदी थाहा नभई भुकम्पबारेमा भबिष्यबाणी गर्न सकिदैन। यसकालागी बिबिध बिधिहरुको प्रयोग हुने र यसको बिकास हुने क्रम जारी छ।
३ दिन अघि मात्र एकाएक ट्विटरमा ट्रेन्ड देखापर्यो #PrayForPhilippines यो फिलिपिन्समा जान सक्ने भनिएको ७.२ रिक्टरस्केलको संभावित भुकम्पको हल्लाका कारण भएको थियो तर आजसम्म पनि त्यस क्षेत्रमा कुनै भुकम्प गएको छैन। फिलिपिन्सको सरकारी कार्यालयले नयाँ प्रबिधिबाट जोखिम युक्तक्षेत्रको फल्टको नक्सांकन गर्दा पहिलेको भन्दा राम्रो रिजोलुसनको नक्सा (कम स्केलको) निकाल्यो जसले त्यो फल्टले ७.२ रिक्टरस्केल सम्मको भुकम्प जानसक्ने देखायो तर यो अहिल्यै आजै जान्छ भनेको थिएन, उसले सजग गराएको थियो, जोखिम क्षेत्रको भुउपयोगमा परिबर्तन गर्नुपर्ने कुरा गरेको थियो, यो एक सतर्कताको लागी आह्वान मात्र थियो।
नेपालमा पनि ठुलो भुकम्प र ठुलो परकम्प गईसकेपछि सर्बसाधारणमा एक किसिमको त्रास रह्यो, टोलटोलमा भबिष्यबाणि गर्नेहरु निस्किए, नासाले भनेको रे, बिबिसिले भनेको रे भनेर पनि हल्लाहरु चलाईए तर ति त्यसरी भनिएका थिएनन। अँधेरोमा झटारो हान्दा पनि कहिलेकाहीँ त लागीहाल्छ नी, त्यस्तै हो भुकम्पको भबिष्यबाणी मिल्नु भनेको।
USGS ले जारी गरेको सतर्कता सम्बन्धमा
ठुला ठुला भुकम्प पश्चात परकम्पको सम्भावना निकै धेरै हुन्छ, यसको सम्भावनाका बारे धेरै नै सोधहरु पनि भएका छन तर यकिन यहि समयमै यत्रै परकम्प जान्छ भनेर पत्ता लगाउने बिधि अहिलेसम्म छैन त्यसैले सबै कुराहरु संभाब्यताको आधारमा प्रस्तुत गरिन्छन। बैशाख १२ गतेको गोरखा भुकम्प पश्चात पुन बैशाख २९ गतेको अर्को तुलनात्मक ठुलो परकम्प गयो जसको संभावना निकै कम थियो। बैशाख २९ को भुकम्प पश्चात USGS ले सतर्कताका लागी केही सम्भावना का कुराहरु देखायो अघिल्लो हप्ता भन्दा यस हप्ताको प्रक्षेपणमा भुकम्पहरु जाने संभावना निकै कम भइसकेको छ। अघील्लो हप्ता भन्दा यसपटक USGS ले गरेको संभाब्यता प्रक्षेपणले जोखिम निकै कम देखाएको छ, यदि यहि बिचमा अन्य ठुला भुकम्प गएको भए जोखिम बढी नै हुनेथियो। हेरौं अघिल्लो हप्ता र यस हप्तामा कति फरक परेको छ जोखिमको संभावनामा।
यस्तो संभावनाको हिसाब कसरी गरिन्छ?
USGS ले गर्ने परकम्पहरुको संभाब्यता अहिले सम्म गएका भुकम्पहरुको आधारमा गरिने हो। परकम्पहरु समय क्रम संगै घट्दै जान्छ भन्ने कुरा सन १८९४ मा जापानी अनुसन्धानकर्ता फुसाकिचि ओमोरीले पेस गरेका थिए। अर्का जापानी अनुसन्धानकर्ता योशिहिको ओगाताले सन १९८८मा प्रस्ताव गरेको एक अध्ययन(Epidemic Type Aftershock Sequence (ETAS) model) को आधारमा USGS ले यस्तो हिसाब गर्ने गर्छ। यसका लागी यस क्षेत्रमा कति भुकम्पहरु गए, कति समयको अन्तरालमा कति परकम्पहरु गए, यस्तै गणितिय आधारमा त्यस क्षेत्रको संभाब्यताहरु देखाउने गरिन्छ।
यसहप्ता(20 May) जारी गरेको सतर्कता सम्बन्धि हिसाब यस्तो छ।
यस्तो प्रक्षेपणको फाईदा के त? किन गरिन्छ?
नेपाल बुकम्पिय जोखिममा थियो, छ र रहने छ यो कुरा हामीले बुझ्दै आएका थियौं, छौं। सामान्य रुपमा कुनै पनि देशमा भुकम्प प्रतिरोधि घर या अन्य संरचना डिजाईन गर्दा हामीले ध्यान दिने भनेको त्यस क्षेत्रमा जमिन कति हल्लिन सक्छ या भनौं जमिन हल्लिने प्रबेग कति हुनसक्छ भन्ने हिसाब गरिन्छ यसको लागी हामीले त्यस क्षेत्रमा कति कति बर्षमा कति ठुलो भुकम्पिय असर पर्न सक्छ भन्ने हिसाब गरिन्छ। सुरक्षाको हिसाबले कस्तो संरचना कति बलियो बनाउने भन्ने पनि आधारहरु यसरि नै लिने गरिन्छ।
परकम्पहरुको संभाब्यताले के भन्छ भने अझै पनि ठुलो धक्काहरु आउने संभावना शुन्य भएको छैन, साना साना धक्काहरुको संभावना छँदैछ। न्युजिल्यान्डको क्यान्टर्बरी क्षेत्रमा सन २०१० सेप्टेम्बर ४ मा गएको ७.१ को भुकम्पपश्चात २०११को फेब्रुअरी २२ मा ६.३ को, १३ जुनमा पुन ६.३ को परकम्प गएको थियो।
यस्तो प्रक्षेपणले बिपद ब्यबस्थापन तथा पुन निर्माणको निति बनाउन सहयोग पुग्छ, सुरक्षालाई कसरी प्राथमिकतामा राख्ने भन्ने कुरामा पनि यसले सहयोग गर्छ। अहिले नै हामीले नयाँ कंक्रिटका संरचनाहरु बनाउनु उचित छैन भन्ने आधार पनि हो यो।
सबै ठाउँमा जाने भुकम्पहरुको प्रकृति उस्तै हुदैनन, त्यसैले कुनै एकलाई आधार मानेर भन्न मिल्ने अबस्था हुदैन। अझै पनि पहिलेको जस्तै तर्सिएर, आत्तिएर बस्नुपर्ने अबस्था होईन, हामी सुरक्षित र सजग सधैं रहिरहनुपर्छ। भत्कन सक्ने घर या अन्य संरचनाबाट टाढै बसौं, पहिले पहिलेका दिन भन्दा अब ठुला भुकम्पको संभावना झिनो हुदै गएको छ। तर हामीले याद गर्नुपर्ने कुरा के हो भने कुनै पनि बेला १, २, ३ बर्ष भित्र सम्म पनि केही ठुलो भुकम्पको झट्का (जसले पुराना केहि क्षति भएका संरचनामा थप क्षति गर्न सक्छन) हामीले बेहोर्नुपर्ने हुनसक्छ। त्यसकालागी डराएर होईन त्यसलाई थेग्ने, सुरक्षित हुने तयारी गरेर बस्नुपर्छ।
Twitter: @rrp447
Twitter: @rrp447