Tuesday, April 28, 2015

उद्दारमा जान सजिलो हुने नक्सा, प्रभावित ठाउँ र जाने बाटो सहित

तपाई राहत र उद्दारमा कतै जादै हुनुहुन्छ? यो पनि हेर्नुस तपाईलाई केही सहयोग पुग्न सक्छ। बिबिध सुचनाका आधारमा GIS बाट बनाईएका यि नक्साहरु तपाईले हेर्न सक्नुहुन्छ। गोरखा, लमजुङ, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक का प्रभावित गा बि स र त्यहाँ पुग्ने बाटो। यि नक्सा अपडेट हुदै जानेछन साथै अन्य जिल्लाका नक्साहरु पनि थपिदै जानेछन। यि नक्साहरु अमेरिकामा रहनुभएका ईन्जिनियर साथि सतिस त्रिपाठी र संजिब राईले बनाउनुभएको हो।
तपाईंले पनि पाएका जानकारी हामिलाई पठाउनुहोलाः तपाईंले देखेका सुचना दिएर यसरी सहयोग गरिदिनुस, हामी म्याप बनाएर उद्दारमा सहयोग गर्छौं 

कहाँ कहाँ के के सुबिधा छ भन्ने नक्सा



कसरी त्यो ठाउमा पुग्न सकिन्छ भन्ने नक्सा








भुकम्प प्रभावित क्षेत्रहरु

गोरखा जिल्लाको नक्सा

लमजुङ जिल्लाको नक्सा

धादिङ जिल्लाको नक्सा
नुवाकोट जिल्लाको नक्सा
रसुवा जिल्लाको नक्सा
सिन्धुपाल्चोक जिल्लाको नक्सा
काभ्रेपलाञ्चोक जिल्लाको नक्सा




तपाईंले देखेका सुचना दिएर यसरी सहयोग गरिदिनुस, हामी म्याप बनाएर उद्दारमा सहयोग गर्छौं

बिपदको यस बेलामा जो जसले जहाँबाट जे जे सहयोग गर्न सकिन्छ गरौं, देश बिदेश जहाँरहेर पनि आफुले गर्न सकिने सबैले गरेकै छौं र अझै जारी राखौं। अहिले नेपालमा मुख्य समस्या पैसामा छैन, केहि रुपमा सामाग्रीमा छ तर मुख्य समस्या ब्यबस्थापनमा छ। ब्यबस्थापन गर्ने काम आफैमा झन्झटिलो हुन्छ यसैमाथी तारन्तारको भुकम्पका झट्काहरुले त्रसित भईरहेको मन र मस्तिस्कले के केति गर्न सक्ला त्यो आफै पनि सोचनिय छ।
सरकारी उद्दार र राहतमा निकै गुनासा सुनिन थालेका छन तर म भन्छु यो महा बिपत्तिमा आफुले सक्ने सबैले गरौं, यदि कोही कसैले महाबिपतको यो समयलाई कमाउने मेलो बनाएभने सम्झनुस उसको कात्रोमा पनि गोजी हुदैन बरु सप्रमाण भटेिएमा हुने भविश्यको सामाजिक तिरस्कारले आफैले गोजीमा कात्रो बिकेर हिड्न बाध्य हुनेछ। अहिले यति बुझौं र आफुले जे सकिन्छ गरौं।
हाल अमेरीकामा रहनु भएका ईन्जिनियर सतिस त्रिपाठी, GIS Analyst संजिव राई अहिले यस्तै काममा लाग्नुभएको छ, अन्य धेरै साथिहरुको सहयोगमा हामी प्रभावित क्षेत्रमा कहाँ कस्तो अबस्था छ र त्यहाँ जाने रुटहरु कस्ता छन, कहाँ कहाँ पहिरो गएको छ या स्थिति के छ, उद्दारको स्थिति कस्तो छ भनेर चित्रमा देखाउने छौं जसले गर्दा उद्दारमा खट्नुहुने सबैलाई सजिलो हुने हामिले ठानेका छौं।
जस्तै उदाहरणको रुपमा एउटा म्याप हेरौं गोरखाको जसमा बाटोहरु पनि देखाईएको छ। यसमा धेरै अपडेट बाँकि छ। साथै यसला हुने जानकारी पछि गुगल म्यापमा पनि राखिनेछ।

आउनुहोस यो तलको फर्म भरेर तपाईंसंग भएको जानकारी हामिलाई दिनुहोस।

Monday, April 27, 2015

अत्याबश्यक जानकारीः आफ्नो घर फर्किनु अघि घरको सामान्य जाँच यसरी गर्नुस

ठुला ठुला भुकम्प पश्चात हाम्रो ठाउँमा रहेका संरचनाहरु कति ढले भने कति पुरै ढलेका छैनन तर भित्रि रुपमा तिनिहरु कमजोर भएर बसेका हुनसक्छन। कतिपय संरचना केही नभएका पनि हुनसक्छन तर धेरै जसो संरचनामा केहि न केही क्षति त पुगेकै छ। यदि यस्तो क्षति धेरै भएको संरचनामा हामी यत्तिकै बस्न थाल्यौं भने कुनै पनि बेला भत्किन पनि सक्छन त्यसैले आफु घर भित्र छिर्नु अघी आफैले आफ्नो घरको जाँच गर्नुहोस। हुनत यस्ता जाँच गर्न बिशेसत स्ट्रक्चरल ईन्जिनियरको आबश्यकता पर्छ तर हामीसंग रहेको मानव श्रोतको अभाव बिच तपाई आफैले यसरी आफ्नो घरको जाँच गर्न सक्नुहुनेछ।
चर्किएको भित्ता (फोटो: @gunaraj)
नोटः यसरी गरिने घरको जाँच, साना भुकम्पहरु को क्रम रोकिन लागेपछि मात्रै गरौं, सरकारले बाहिरै बस्न तोकेको समय सम्म कम्तिमा यसो नगरौं।
जाँच गर्ने समयमा भत्किएका संरचना नजिक जाने चलाउने नगरौं, कुनै बेला मात्रै थोरै टेका लागेको संरचना रहेछ भने केही भाग झरेर घाईते हुनपनि सकिन्छ।

तपाईंले पहिले आफ्नो घरको प्रकार छुट्याउनुहोस र मुख्य भार थाम्ने संरचना(पिलर सिस्टममा बिम, पिलर, ईट्टा, ढुंगामा घरको भित्ताहरु)का लागी यस अनुसार गर्नुहोस। 
घरहरुलाई ३ बर्गमा बाँडौं।

१) रातो बर्गः खतराजनक, जुन संरचना पुन निर्माण मर्मत नगरी बस्न लायक हुदैनन। यसमा पुर्ण क्षतिग्रस्त भवनहरु पनि पर्दछन। तपाईंको संरचना यस बर्गमा पर्छ भने स्ट्रक्चरल ईन्जिनियरहरुको सल्लाह लिएर मर्मत गराउनुहोला।

२) पहेंलो बर्गः साबधानि पुर्बक केही भाग प्रयोग गर्न सकिने, सामान्य मर्मतले सुरक्षित हुने संरचनाहरु।

३)हरियो बर्गः यस्ता घर जसमा सामान्य सरसफाई र निकै साधारण मर्मत भए पुग्नेछ। 

मुख्य संरचना हेर्नु अघी घरको जगको अबस्था हेर्नुहोस। टाईबिमको तल कस्तो छ, कतै टाईबिमनै चिरिएको पो छ कि? या घर केही धस्सिएको पो छ कि, यदि धस्सिएको, टाईबिम चर्किएको छ भने बाहिरबाटै साबधानी पुर्बक जाँच गरौं, घर छिर्न हतार नगरी स्ट्रक्चरल ईन्जिनियरहरुको सल्लाह लिऔं।

मुख्य संरचनाको प्रकारः

पिलर सिस्टमको घरः


तपाईंको घर पिलर सिस्टमको छ भने यो पुर्णरुपमा क्षति नभएतापनी उचित मर्मत बिना बस्न नमिल्ने हुन सक्छन, यसकालागी तलका मुख्य कुराहरु हेर्नुहोसः

स्ल्याब, पिलर, बिमहरु, सबै या केही चर्किएका छन वा छैनन हेर्नुहोस, बिम र पिलरको जोईन्टको वरिपरि या पिलरको बिचमा यस्तो देख्न सकिन्छ।

Ø  चर्किएको छैन भने यस्तो घरलाई पहेंलो बर्गमा राखौं
*      भित्ताहरु चिरिएको छ या छैन हेरौं यदि भित्ताहरु मात्रै चिरिएको भएमा त्यसलाई सामान्य मर्मत पछि प्रयोगमा ल्याउन सकिन्छ।
*      अन्य भागहरु जस्तै झ्याल, ढोका, सोकेसका स्ल्याबहरुमा क्षतिपुगेको रहेछ भने सामान्य मर्मतपछिनै यसको प्रयोग गर्न सकिन्छ।
*      घर भित्रको अवलोकन पछी घर बाहिर जानुहोस र वरिपरी सबैतिर हेर्नुहोस कतै चर्किएको पो छ कि

Ø  पिलर, बिम, स्ल्याब चर्किएको छ भने
*      बिम, पिलर, स्ल्याबको बाहिरको ढलान उप्किएर झरेको हुनसक्छ र डण्डी देखिएको हुनसक्छ, यदि त्यस्तो छ भने यसको लागी बिशेष ज्ञान भएका प्राबिधिकको रोहबरमा मर्मत गर्न लगाउनु उपयुक्त हुन्छ र त्यसपछि मात्रै घरमा बस्नु राम्रो हुन्छ। बढि क्षति भएका ठाउँमा बलियो टेका लगाएर राखौं।  यस्तो घरलाई रातो बर्गमा राखौं  
यदि घर ढल्किएको छ भने यसलाई पनि रातो बर्गमा राखौ। किनकी यो प्रयोग गर्न लायक रहदैन।

सामान्य मात्र चर्किएको (Hair crack) छ, मसिनो १, २, लाईनमात्र देखिएको छ भने त्यसलाई प्रयोग गर्न सकिन्छ तर मसिना चिरा एकै ठाऊमा धेरै संख्यामा देखिएमा मर्मत पश्चात त्यो रुमको प्रयोग गरौं। यदि त्यो चिरा भित्र सम्म नपरेको भएमा केही समयपछि मर्मत गर्दापनि हुन्छ। यस्तो घरलाई पहेंलो बर्गमा राखौं
यदि भित्ता मात्रै चिरिएको छ भने त्यस भित्ताको बरिपरी वा त्यो कोठा मर्मत अघि प्रयोग नगरौं, (जस्तै माथि देखाएको फोटोको अबस्था) यस्तो घरलाई पहेंलो बर्गमा राखौं

 पिलर बिम र स्ल्याब नचर्किएको र भित्तापनी नचर्किएको घर छ भने यस्ता घरहरुलाई हरियो बर्गमा राखौं। 

ईट्टा/ढुंगाले मात्र बनेको घरः


ईट्टा/ढुंगाले मात्र बनेका घरहरुको मुख्य भार थाम्ने भाग भनेको वाल मात्रै हो, यस्ता घरमा रहेका सम्पुर्ण वालहरुको सुझ्म अवलोकन गर्नुहोस।
Ø  कहाँ कहाँ कति चर्किएको छ, यदि धेरैनै चर्किएको छ भने त्यस्तो ठाँउको माथिको छत/स्ल्याबलाई बलियो टेका लगाऔं र पुर्ण मर्मत पछी मात्रै यसको प्रयोग गरौं। यस्ता घरहरु रातो बर्गमा राखौं।
Ø  यदि भित्ताहरुमा सामान्य मात्र चिरा देखिएको छ भने यस्तो घरलाई पहेंलो बर्गमा राखौं

कतै पनि खासै केही क्र्याक देखिएको छैनभने यस्ता घरलाई हरियो बर्गमा राखौं

यि माथी भनिएका कुरा घरको मुख्य भार थाम्ने संरचनाको हकमा गरिएका हुन। यसबाहेक अन्य धेरै कुराहरुमा ध्यान पुर्याउनुहोला जस्तैः
घर नजिक जाँदा वरिपरी लड्न लागेका पर्खाल या भुँईमा रहेका सिसाका टुक्रा आदीको बारे बिचार गर्नुहोला।
घर भित्र छिर्नासाथ ग्यास या बिजुली अन गर्नु अघि सबै चेक गर्नुहोस, कतै ग्यास लिक पो छ की!, कतै बिजुलीको तार छुटेको पो छ की
घर भित्रका सामानहरु मिलाउदा, राख्दा पनि ध्यान दिनुहोला कतै फेरी आउनसक्ने सम्भावित सानै झट्काले पनि खस्ने पो हुन्छ की!

तपाईंको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुहोला। आफ्नो घर रातो बर्गमा परेको छ भने हरियो बर्गको घर हुने छिमेकीसंग मिलेर बस्नुहोला, यो बिपद सबैको हो, भन्ने बितिक्कै मर्मत गराउन संभव नहुनसक्छ।

Sunday, April 26, 2015

किन र अझै कति आउला त यो भुईचालोको झट्का? हेरौं केही तथ्यहरु

सर्बप्रथम त आजको यस बिनासकारी ज्यान गुमाउनुभएका सम्पुर्णप्रति श्रद्दाञ्जली, सम्बन्धित परिवारजनमा हार्दिक समबेदना।
आज काठमाण्डौं उपत्यका लगायत देशैभरी त्रास फैलीरहेको छ। के अझै पनि भुईचालो पर्किन्छ? कति समय फर्किन्छ? कहिले सम्म यस्तो होला?? यस्ता प्रश्नहरु समाजिक संजाल मार्फत धेरै देख्न पाएँ। यसै सम्बन्धि केही प्रक्रिया र तथ्यहरु यहाँ लेख्न लागेको छु।

किन गईरहन्छ यसरी ठुलो पछी स-साना भुकम्प?

कुनै एक ठुलो भुकम्प पछि आउने साना साना भुकम्पका धक्काहरुलाई आफ्टरसक (AfterShock) भनिन्छ। यदी अझै ठुलो भुकम्प आएमा यस अघिका भुकम्पलाई फरसक(ForeShock) ठुलो भुकम्प अघिका धक्का भनेर भनिन्छ।
आजको भुकम्पको धक्का युरेसियन प्लेट र भारतिय प्लेटको बिचमा जम्मा हुदै गएको शक्ति बाहिर निस्कदा आएको हो। बैज्ञानिक अनुसन्धानहरुले यि दुई प्लेटहरु बार्षिक केही सेन्टिमिटरको दरले एक भित्र अर्को घुसिरहेको देखाएका छन।
जब मुख्य भुकम्पको धक्का आयो तब ति दुई प्लेटहरु केही छुट्टिए या भित्र छिरे तर एकै पटकमा त्यहाँ जम्मा भएको शक्ति बाहीर नअाउने सम्भावना धेरै हुन्छ र त्यो शक्ति बिस्तारै बाहीर आउन थाल्छ साना साना भुकम्पको रुपमा। यसरी आउने भुकम्पका केन्द्र बिन्दुहरु केही किलोमिटरको दुरीमा रहन सक्छन। जस्तै आज लमजुङमा गएको मुख्य भुकम्प पछि रसुवा सहित अन्य बिबिध ठाउँलाई केन्द्र बिन्दु बनाएर धेरै स-साना भुकम्प गए।
यस भुकम्पले हाम्रो जमिनमुनीको मुख्य चट्टान चिरिएको छ जहाँबाट यसमा संचित शक्ति बाहिर आयो, त्यसैले अझै पनि चिरिने क्रम पुर्ण रुपमा नरोकिएसम्म भुकम्पका धक्का हामीले महसुस गरिरहनेछौं।

कहिले सम्म चल्ला यो क्रम?

कुनैपनि ठुलो भुकम्प पछि साना साना भुकम्पहरु कति जान्छन र कहिले सम्म जान्छन भनेर ठ्याक्कै भन्न सकिन्न तर के कुरा हो भने ठुला ठुला भुकम्प पछि साना भुकम्प अबस्य आउछन। जापानमा सन २०११ मार्चमा गएको महाभुकम्प पछि करिब २० दिनसम्म यस्ता भुकम्पहरु गए। तर हाम्रोमा आज गएको भुकम्प त्यती ठुलो नभएकोले यति धेरै दिन सम्म जारी रहला बन्न सकिन्न। तर जापानमै २००३मा गएको ८ रेक्टरस्केलको भुईचालो पछि करिब ६ दिनसम्म स-साना भुकम्प आईरहेका थिए। 
नेपालमा आज बेलुकी ७ः५५ सम्मको रेकर्ड अनुसार २६ वटा स-साना भुकम्प गएका छन तर यो क्रम कहिले रोकिएला?? हामीले केही पुराना तथ्यहरु हेर्ने हो भने यो क्रम भोली पर्सी सम्म रहने निकै धेरै संभावना छ। 
हेरौं ति भुकम्प पछिका स-साना भुकम्प कति र कहिले गए।




अब आफैं पनि थोरै बुझ्नुभयो कि.... अझै केही समय सजग रहेर सुरक्षित रहनुहोला। साथसाथै सजगताका साथ आ-आफ्नो ठाऊंमा उद्दार र सहयोगमा पनि लाग्नुहोला।

यो बिपत्ती पहिले आँकलन नगरीएको होईन, मैले नै भुकम्प दिबसको सन्दर्भमा लेखेको पोस्ट हेर्नुहोला यो पोस्ट जहाँ यस्तै स्थितिको चित्रित गरिएको छ, तर अब पहिले के भनियो भन्दा पनि अहिले के गर्न सकिन्छ भन्ने कुरा नै महत्वपुर्ण हो।

*यहाँ राखिएका डाटाहरु ( NIED, USGS) बाट लिएर प्रसोधन गरिएका हुन