ठुला ठुला भुकम्प पश्चात हाम्रो ठाउँमा रहेका संरचनाहरु कति ढले भने कति पुरै ढलेका छैनन तर भित्रि रुपमा तिनिहरु कमजोर भएर बसेका हुनसक्छन। कतिपय संरचना केही नभएका पनि हुनसक्छन तर धेरै जसो संरचनामा केहि न केही क्षति त पुगेकै छ। यदि यस्तो क्षति धेरै भएको संरचनामा हामी यत्तिकै बस्न थाल्यौं भने कुनै पनि बेला भत्किन पनि सक्छन त्यसैले आफु घर भित्र छिर्नु अघी आफैले आफ्नो घरको जाँच गर्नुहोस। हुनत यस्ता जाँच गर्न बिशेसत स्ट्रक्चरल ईन्जिनियरको आबश्यकता पर्छ तर हामीसंग रहेको मानव श्रोतको अभाव बिच तपाई आफैले यसरी आफ्नो घरको जाँच गर्न सक्नुहुनेछ।
![]() |
चर्किएको भित्ता (फोटो: @gunaraj) |
नोटः यसरी गरिने घरको जाँच, साना भुकम्पहरु को क्रम रोकिन लागेपछि मात्रै गरौं, सरकारले बाहिरै बस्न तोकेको समय सम्म कम्तिमा यसो नगरौं।
जाँच गर्ने समयमा भत्किएका संरचना नजिक जाने चलाउने नगरौं, कुनै बेला मात्रै थोरै टेका लागेको संरचना रहेछ भने केही भाग झरेर घाईते हुनपनि सकिन्छ।
तपाईंले पहिले आफ्नो घरको प्रकार छुट्याउनुहोस र मुख्य भार थाम्ने संरचना(पिलर सिस्टममा बिम, पिलर, ईट्टा, ढुंगामा घरको भित्ताहरु)का लागी यस अनुसार गर्नुहोस।
घरहरुलाई ३ बर्गमा बाँडौं।
१) रातो बर्गः खतराजनक, जुन संरचना पुन निर्माण मर्मत नगरी बस्न लायक हुदैनन। यसमा पुर्ण क्षतिग्रस्त भवनहरु पनि पर्दछन। तपाईंको संरचना यस बर्गमा पर्छ भने स्ट्रक्चरल ईन्जिनियरहरुको सल्लाह लिएर मर्मत गराउनुहोला।
२) पहेंलो बर्गः साबधानि पुर्बक केही भाग प्रयोग गर्न सकिने, सामान्य मर्मतले सुरक्षित हुने संरचनाहरु।
३)हरियो बर्गः यस्ता घर जसमा सामान्य सरसफाई र निकै साधारण मर्मत भए पुग्नेछ।
मुख्य संरचना हेर्नु अघी घरको जगको अबस्था हेर्नुहोस। टाईबिमको तल कस्तो छ, कतै टाईबिमनै चिरिएको पो छ कि? या घर केही धस्सिएको पो छ कि, यदि धस्सिएको, टाईबिम चर्किएको छ भने बाहिरबाटै साबधानी पुर्बक जाँच गरौं, घर छिर्न हतार नगरी स्ट्रक्चरल ईन्जिनियरहरुको सल्लाह लिऔं।
मुख्य संरचनाको प्रकारः
पिलर सिस्टमको घरः
तपाईंको घर पिलर सिस्टमको छ भने यो पुर्णरुपमा क्षति नभएतापनी उचित मर्मत बिना बस्न नमिल्ने हुन सक्छन, यसकालागी तलका मुख्य कुराहरु हेर्नुहोसः
स्ल्याब, पिलर, बिमहरु, सबै या केही चर्किएका छन वा छैनन हेर्नुहोस, बिम र पिलरको जोईन्टको वरिपरि या पिलरको बिचमा यस्तो देख्न सकिन्छ।
Ø चर्किएको छैन भने यस्तो घरलाई पहेंलो बर्गमा राखौं



Ø पिलर, बिम, स्ल्याब चर्किएको छ भने

यदि घर ढल्किएको छ भने यसलाई पनि रातो बर्गमा राखौ। किनकी यो प्रयोग गर्न लायक रहदैन।
सामान्य मात्र चर्किएको (Hair crack) छ, मसिनो १, २, लाईनमात्र देखिएको छ भने त्यसलाई प्रयोग गर्न सकिन्छ तर मसिना चिरा एकै ठाऊमा धेरै संख्यामा देखिएमा मर्मत पश्चात त्यो रुमको प्रयोग गरौं। यदि त्यो चिरा भित्र सम्म नपरेको भएमा केही समयपछि मर्मत गर्दापनि हुन्छ। यस्तो घरलाई पहेंलो बर्गमा राखौं
यदि भित्ता मात्रै चिरिएको छ भने त्यस भित्ताको बरिपरी वा त्यो कोठा मर्मत अघि प्रयोग नगरौं, (जस्तै माथि देखाएको फोटोको अबस्था) यस्तो घरलाई पहेंलो बर्गमा राखौं
ईट्टा/ढुंगाले मात्र बनेको घरः
ईट्टा/ढुंगाले मात्र बनेका घरहरुको मुख्य भार थाम्ने भाग भनेको वाल मात्रै हो, यस्ता घरमा रहेका सम्पुर्ण वालहरुको सुझ्म अवलोकन गर्नुहोस।
Ø कहाँ कहाँ कति चर्किएको छ, यदि धेरैनै चर्किएको छ भने त्यस्तो ठाँउको माथिको छत/स्ल्याबलाई बलियो टेका लगाऔं र पुर्ण मर्मत पछी मात्रै यसको प्रयोग गरौं। यस्ता घरहरु रातो बर्गमा राखौं।
Ø यदि भित्ताहरुमा सामान्य मात्र चिरा देखिएको छ भने यस्तो घरलाई पहेंलो बर्गमा राखौं
कतै पनि खासै केही क्र्याक देखिएको छैनभने यस्ता घरलाई हरियो बर्गमा राखौं।
यि माथी भनिएका कुरा घरको मुख्य भार थाम्ने संरचनाको हकमा गरिएका हुन। यसबाहेक अन्य धेरै कुराहरुमा ध्यान पुर्याउनुहोला जस्तैः
घर नजिक जाँदा वरिपरी लड्न लागेका पर्खाल या भुँईमा रहेका सिसाका टुक्रा आदीको बारे बिचार गर्नुहोला।
घर भित्र छिर्नासाथ ग्यास या बिजुली अन गर्नु अघि सबै चेक गर्नुहोस, कतै ग्यास लिक पो छ की!, कतै बिजुलीको तार छुटेको पो छ की
घर भित्रका सामानहरु मिलाउदा, राख्दा पनि ध्यान दिनुहोला कतै फेरी आउनसक्ने सम्भावित सानै झट्काले पनि खस्ने पो हुन्छ की!
तपाईंको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुहोला। आफ्नो घर रातो बर्गमा परेको छ भने हरियो बर्गको घर हुने छिमेकीसंग मिलेर बस्नुहोला, यो बिपद सबैको हो, भन्ने बितिक्कै मर्मत गराउन संभव नहुनसक्छ।