बैशाख १२ र २९ गतेका भुकम्पका कारण हताहती हुनेको संख्या ८६५० (नेपाल पुलिसले उपलब्ध गराएको तथ्यांक, जेठ ९) अपेक्षाकृत कम नै हो किनकि हामी भाग्यमानी रह्यौं भनौं यो यस्तो समयमा आयो कि यदि भगवान (छन भन्ने मान्नुहुन्छ भने)ले नेपालमा भुकम्प आउछ नै तर कुन दिन र समयमा पठाऊं भनेर सोध्थे भने सायद मैले भन्थेँ होला, शनिबार, दिऊसो। समयले मात्रै होईन आएको भुकम्पको तरंग काठमाण्डौंको बिच भागमा (कान्तिपथको तथ्यांक हेर्दा) यति शुस्त खालको आयो कि जुन अन्य ठुला भुकम्प भन्दा भिन्नै थियो। अनुसन्धानकर्ताहरुले सोचे भन्दा फरक थियो जसको असर होचा संरचनामा खासै धेरै पर्ने थिएन तर अग्ला संरचनाहरुमा बढी पर्ने थियो। जब नेपालमा ७.९ मोमेन्ट म्याग्निच्युडको भुकम्प गयो भन्ने थाहा पाएँ तत्कालै मैले मनमनै भनेको थिएँ १०,००० भन्दा माथि नकटिदिओस, करिब करिब त्यस्तै भयो। यति हुदा हुदै पनि अझै हामीले केही मृतकका संख्या घटाउन सक्थ्यौं कि, कहाँ भयो त हाम्रो कमजोरी?
हामीले दिएको अपुरो शिक्षा!!!
नेपाल भुकम्पिय जोखिममा थियो, हामीले यस्तो आँकलन पहिल्यै गरेका थियौं त्यसैले त हाम्रा दाताहरुले यस्तै प्राकृतिक प्रकोपबाट सकेसम्म कम क्षति गराउन के गर्न सकिन्छ भन्ने बारेमा लगानी गरिदिए। हाम्रो देशमा गजबको कुरा कसले के शिर्षकमा कति डोनेसन ल्याए भन्ने खासै हिसाब हुदैन भन्ने सुनिन्छ, यो कत्तिको सत्य हो सम्बन्धितलाई नै थाहा होला। बिबिसीको २१ मे २०१५ मा प्रकाशित समाचार Where is Nepal aid money going? मा जनाएअनुसार बेलायतले मात्र पछिल्लो ४ बर्षमा करिब ३ अर्ब नेपाली रुपैया भुकम्पिय सुरक्षा तयारी भनेर DFID मार्फत दिएको रहेछ। अन्य लगानी थाहा पाउन अब डोनरहरुकै देशका सन्चारमाध्यमहरु कुर्नुपर्ला।
के सिकायौं?
भूकम्पको धक्का महसुस हुनासाथ पहिले हामीले भन्यौं आफ्नो वरिपरि रहेको सुरक्षीत स्थानमा लुक्ने, टेबल, खाट या ढोकाको तल। त्यसरी बस्दा सकेसम्म आफुलाई सानो पार्ने त्यसैले निहुरिने, घुँडा टेक्ने अनि टाउको लुकाउने। यदि केही छैन वरिपरि भने भुईमै भएपनि गुडुल्कि परि टाउको लुकाउने भनेर हामीले पछिल्लो समय मन्त्रिलाई नै घुँडा टेकाएर कार्यक्रम गर्यौं र यहि सिकायौं, स्कुलहरुमा गयौं बालबालीकालाई यहि सिकायौं। हामीले गाउँदेखि शहर सम्म एउटै कुरा फुक्यौं, रेडियो टेलिभिजनहरुले यहि कुरा सुनाईरहे, देखाईरहे जसले गर्दा सबैको मनमा पर्यो जब भुईचालो आयो अब बाहिरै पिंढिमै भएपनि भित्र छिर्यो र खाट या टेबुलमा लुक्यो।
के यो निरपेक्षरुपमा सहि हो त? यो प्रश्न मेरो मनमा पहिले देखि थियो, सन २०१२ र १३ मा म ईन्डोनेसिया पुगेको थिएँ स्वयंसेवीको रुपमा जहाँ हाम्रो मुख्य उद्देश्य थियो, ४-६ कक्षा पढ्ने बिध्यार्थिहरुलाई भुकम्प र सुनामीबाट कसरी सुरक्षित रहने भन्ने बारे केहि ज्ञान बाँड्ने। ईन्डोनेशिया भुकम्प र सुनामीको निकै धेरै जोखिम भएको राष्ट्र हो। सन २००४मा आएको भुकम्प र त्यसका कारण आएको सुनामीले करिब २,३०,००० मानिसको ज्यान लिएको थियो त्यसपश्चात यस सम्बन्धि सुरक्षाको चेतना जगाउन क्योटो बिश्वबिध्यालका प्राध्यापक जुन्जि कियोनोको अग्रसरतामा प्रत्येक बर्ष यसै बिश्वबिध्यालय अध्ययन गर्ने जापानी सहित केही बिदेशि स्वयंसेवीहरु ईन्डोनेसियामा जाने गरिएको छ।
त्यहाँ गएर हामीले के सिकाउने भन्ने कुरा जापानमै तय गरिन्छ र तयारीसमेत गरिन्छ। यसमा मुख्यत दुई भाग छन जसमा पहिलो भागमा भुकम्प र दोस्रो भागमा सुनामीबाट सुरक्षित कसरी हुन सकिन्छ भनेर सिकाईन्छ। यसक्रममा हामीले तयारी गर्दा पहिले देखि सिकाईंदै आएको कुरा जुन हामीले नेपालमा सिकायौं त्यहि थियो तर मैले त्यसबेला प्रश्न गरें के आफु बसेकै घरको मुख्य संरचना नै सुरक्षित छैन भने यसरी लुक भनेर उनिहरु सुरक्षीत हुनसक्छन? त्यसबेला केही छलफल भएको थियो र केहि सामान्य परिमार्जन गरियो।
कस्तोमा यो ठिक कस्तोमा बेठिक?
बिशेष गरी बिकसित देशहरुमा प्रयोगमा आउने बिधि हो यो जुन प्रभावकारी पनि छ। बिकसित देशमा ठुलै भुकम्प आउदा पनि घरहरु पुरै ढल्ने खालका हुदैनन, पार्टिसन वालहरु भत्कन सक्छन, सिलिङ खस्न सक्छ, कोठामा राखिएका दराज, टेलिभिजन, सोकेसहरु पल्टनसक्छन र लाग्न सक्छ, त्यसैले यस्तोबाट बच्न त्यहाँ यसो गर्ने गरिन्छ।
नेपालजस्ता बिकासोन्मुख या अल्पबिकसित देशहरुमा भवनहरु जहाँ जथाभावी निर्माण गरिएका छन, सुरक्षित हुने गरि मापदण्ड अपनाएर बनाईएका छैनन, ग्रामीण क्षेत्रमा निकै कमजोर संरचनाहरु छन। त्यस्ता संरचनाहरु भुकम्पको धक्काले पुर्णरुपमा क्षति हुने संभावना ज्यादा छ। हाम्रै गाउँघरमा ढुंगामटोले बनेका १-२ तले घरहरु धेरै छन, यसपटकका भुकम्पको धक्काले केहि निमेषमै ति भग्नाबशेषमा परिणत भए। त्यस्ता ठाउँमा समग्रमै भुकम्प आउदा खाटमुनि, टेबलमुनी लुक या जहाँ छौ त्यहीं गुडुल्कि परि बस भनेर सिकाउदा झनै जोखिम बढेन र? हो कुनै अबस्थामा भाग्न खोज्दा माथिबाट झर्ने या पल्टने सामानका कारण पनि मृत्यु हुनसक्छ तर यस्तो जोखिमको बारे थाहा हुने अबस्था भएमा के गर्ने निर्णय गर्न सजिलो हुनेछ।
उदाहरणको लागी हेरौं अहिलेको चर्चित अपार्टमेन्ट होराईजन जसको मुख्य संरचनागत क्षति कम छ, ढलेको छैन तर भित्र वालहरु धेरैजसो लडेका छन, सामानहरु छरपस्ट भएको छ, यस्ता खालका संरचनाहरुमा हुँदासम्म हामीले सिकाएको बिधि ठिक हो। तर हाम्रो गाउँघरमा ढुंगा माटोले बनेका संरचनाहरु भित्र या शहरी क्षेत्रमै पनि पुर्णरुपमा ढलेका संरचना भित्र यसो गर्दा के हामी सुरक्षित हुनसक्छौं त? सक्दैनौं पक्कै पनि, हामीले हेर्नसक्छौं यस समयमा जिवितै उद्दार हुनेको संख्या तुलनात्मक रुपमा कम होईन र?
फेरीपनि मुख्य कुरा के हो भने के सिकाएको भए हुने थियो होला त? यसको उत्तर सजिलै भन्न सकिदैन, यसको लागी हामीले केही गृहकार्य पहिले नै गरेको भए सायद केहि हुने थियो कि? तर पनि सम्बन्धित क्षेत्रमा अब यसबारेमा अनुसन्धान र बहसको आबश्यकता छ। यसबाट हामीलाई त भबिष्यमा हुनसक्ने बिपदबाट जोगिन सहयोग पुग्छ नै संगसंगै बिश्वका अन्य भुकम्पिय जोखिम रहेका हामी जस्तै अल्प बिकसित देशहरुलाई पनि सहयोग पुग्नेछ।
फेरीपनि मुख्य कुरा के हो भने के सिकाएको भए हुने थियो होला त? यसको उत्तर सजिलै भन्न सकिदैन, यसको लागी हामीले केही गृहकार्य पहिले नै गरेको भए सायद केहि हुने थियो कि? तर पनि सम्बन्धित क्षेत्रमा अब यसबारेमा अनुसन्धान र बहसको आबश्यकता छ। यसबाट हामीलाई त भबिष्यमा हुनसक्ने बिपदबाट जोगिन सहयोग पुग्छ नै संगसंगै बिश्वका अन्य भुकम्पिय जोखिम रहेका हामी जस्तै अल्प बिकसित देशहरुलाई पनि सहयोग पुग्नेछ।
जोखिमको आंकलन गरौं र निर्णय गरौं भनेर सिकाउँदा कसो होला?
अब हाम्रो शिक्षामा कस्ता घर भुकम्पको बेला कसरी भत्कन सक्छन, भत्कने जोखिम कति हुन्छ भन्ने बुझाउँ, भूकम्प कत्रो आउदैछ भन्ने शुरुमै थाहा नपाएपनि यदि उसले आफुरहेको स्थानको जोखिम मुल्यांकन गर्नजान्यो भने तत्कालै आफु भाग्ने या त्यहिं सुरक्षित स्थानमा रहने भनेर निर्णय गरि सोहि अनुरुप आफुलाई परिचालन गर्न सक्छ भन्ने मेरो बुझाई हो।
कुनैपनि भुकम्पको धक्का आउदा हामीले थाहा पाउने समयमै एकैचोटी संरचनाहरु ढल्ने होईनन त्यहाँ पनि केही सेकेन्डको समय हुन्छ, यदि नजिकै सुरक्षित स्थान छ भने भागेर त्यहाँ जानु सुरक्षित हुनसक्छ। तर यदि आफु भागेर सुरक्षित स्थान पुग्न धेरै समय लाग्ने छ भने नजिकैको टेबुल, खाट या कुनै सुरक्षित स्थानमा बस्नु राम्रो हुन्छ।
पहिले संरचनाहरुलाई मुख्य २ भागमा बाँडौः
- बलियो घर (पिलर/वाल सिस्टमको भवनसंहिता मानेर बनाईएको भवन)
यदि बलियो घर भित्र छौं भने भागेर थप जोखिममा पार्नुहुदैन त्यसैले नजिकैको सुरक्षित ठाउँ(टेबुल, खाट मुनि) मा बसौं।
- तुलनात्मक कमजोर घर (पुरानो/ढुंगामाटो/ईट्टाले बनाईएको घर)
यदि हामी यस्तो घरको तल्लो तलामा छौं केहि सेकेन्डमै बाहिर सुरक्षित ठाउँम पुग्न सकिन्छ भने त्यसतर्फ लागीहालौं, यदि माथिल्ला तलाहरुमा छौं भने नजिकैको सुरक्षित स्थानमा बसौं।
संरचनालाई यसरी सिधारुपमा बुझ्न सर्बसाधारणलाई गार्हो हुन्छ भन्नेकुरा आउला तर हामीले यसलाई साधारण तरिकाले नै सर्बसाधारणलाई बुझाउन सक्छौं, केहि समय त लाग्ला तर असम्भव होईन। सर्बसाधारणमा ईन्जिनियरिङका केही सामान्य ज्ञानहरु पुग्न पनि यसले मद्दत गर्नेछ। यसोगर्दा एक त भुकम्प आउदाको तयारीमा फाईदा पुग्छ भने अर्को आफ्नो घर बनाउदा पनि सबैले बलियो बनाउन के गर्नुपर्छ भनेर बुझ्नेछन।
जोखिम न्युनिकरण गर्न के गर्दा राम्रोहोला भनेर अध्ययन अनुसन्धान हाम्रै आफ्नै परिबेशमा हुनु जरुरी छ। बिकसित देशको कुरा सबै क्षेत्रमा सबैकुरामा हुबहु लागु गराउन खोज्नु सायद बिज्ञानकै नियमको पनि बिपरित हुन्छ। समुदाय र संरचनासंग सम्बन्धित हुने कुराहरुमा न्युटनको बल सम्बन्धिका नियमहरु सर्बब्यापी प्रयोग गरे जसरी प्रयोग गर्न नखोजौं, आफ्नो बस्तुस्थिति हेरेर आफु अनुकुल ढालौं।