Wednesday, May 13, 2015

महाभुकम्प र त्रासदीः यसबाट नआत्तिऔं हामी झनै बलियो भएका छौं (We Will Rise Again)

नेपालमा बैशाख १२ गते गएको महाभुकम्पका कारण धेरै धनजनको क्षति भयो, यो कुनै अबिश्वसनिय बिपत्ति
थिएन किनकी हाम्रो देश भुकम्पिय जोखिम धेरै भएको मध्ये कै एक देश हो। हामी यसका लागी हामीले कति पुर्ब तयारी गरेका थियौं भन्ने कुरा मुख्य हो। भुकम्प कहिले कहाँ र कत्रो आऊँछ यो भन्न सकिने अबस्था अहिले सम्म छैन। बैज्ञानिकहरुले भुकम्प सम्बन्धि गर्ने भविष्यबाणिहरु उपलब्ध केही डाटाहरु र ऊनिहरुको आफ्ना केही सोच(बिधि)हरुमा (यस ठाउमा यति शक्ति सन्चित भएको हुनुपर्छ, यसका पराकम्पनहरु यस ठाउँमा यसरी गएका छन त्यसैले अब यस्तो हुनसक्छ) आधारित हुन्छन। भुकम्प जाने प्रक्रिया निकै जटिल हुन्छ, पृथ्बिको बाहिरि सतहमा रहेका चट्टानहरुमा संचित शक्ति र यसको सामार्थ्यमा कत्रो र कहाँ भुकम्प जान्छ भन्ने अनुमान गर्न सकिन्छ तर यहि शक्ति र यसको सामार्थ्य यकिन रुपमा पत्ता लगाउने यकिन बिधिहरु अहिलेसम्म छैनन्। यस्ता बिपदबाट बच्न या भनौं कम क्षति बेहोर्न हामी पहिले देखिनै सबै रुपमा तयारी भएर बस्नु नै महत्वपुर्ण कुरा हो।

कस्तो थियो हाम्रो तयारी?


पछिल्लो समय बि सं १९९० सालको भुकम्प पश्चात प्रत्येक बर्ष नेपालमा माघ २ गतेको दिन भुकम्पिय सुरक्षा दिबस मनाउदै आइएको थियो, मन्त्रिहरु समेतको उपस्थितिमा कार्यक्रमहरु हुने गर्थे जसमा मुख्य संयोजनकारी भुमिका NSET ले गरेको हुन्थ्यो। यस्तै बिभिन्न नगरपालीकाहरुमा भवन संहिता लागु गरिएको थियो, बिभिन्न रेडियो टेलिभिजनहरुमार्फत बिबिध सन्देशहरु बाडिएको थियो।
२०१३ को सेप्टेम्बर महिनामा मैले सामाजिक संजाल मार्फत सामान्यखालको भुकम्प सम्बन्धि ज्ञानका बारे सर्भे गरेको थिएँ जसमा नेपालबाट सहभागी ३०५ जनाको उत्तरहरु केलाउँदा यस्तो देखिएको थियो (तलको चित्र हेर्नुहोस)। सामाजिक संजालमा आबद्द हुने र यो सर्भेमा भागलिने नेपालीको चेतनास्तरको बिचार गर्ने हो भने, ५% ले थाहा नै छैन भन्नु र ४२% ले थोरै मात्र थाहा छ भन्नुले यस संबन्धि ज्ञान सर्ब साधारणमा कति रहेछ भन्ने केही अन्दाज लगाउन सकिन्छ। (थप नतिजाहरु हेर्न यहाँ क्लिक गर्नुहोस) यि त कुरा भए ब्यक्तिगत सुरक्षाका कुरा तर यस्ता ज्ञान कति लाभदायक रहेत? यो अर्को खोजको बिषय हो। हामीले ज्ञान बाँड्यौं भुईचालो आएपछि टेबुलमुनि या खाटमुनी या टाउको छोपेर घोप्टिएर सुरक्षित रहौं अनि कम्पन सकिएपछि सुरक्षित स्थानमा जाऔं तर के यसो गर्नु सबै परिस्थितिको लागी राम्रो हो र? यस्तो अपनाउने भनेको जुन ठाउँको मुख्य संरचना बलियो छ तर सहायक संरचनाहरु मात्रै कमजोर छन भने हो अन्यथा सम्पुर्ण संरचना पुरै ढल्ने अबस्थामा छ भने यदि केहि सेकेन्डमै सुरक्षित स्थानमा पुगिने अबस्ता छ भने साबधानिपुर्बक सुरक्षित स्तान तिर जानुनै बेस हुन्छ किन कि कुनै पनि संरचना ढल्न केही सेकेन्ड लाग्छ नै। तर यदी जान सकिने अबस्था छैन, बाहिर सुरक्षित स्थान छैन भने चाही कुनै टाँड पर्ने ठाउँको ओतलागी बस्दा राम्रो हुन्छ।

भुकम्पिय सुरक्षाको तयारी केहि बर्ष मात्र होईन केही दशक देखिनै ब्याबस्थित तबरमा हुनुपर्थ्यो। यसका लागी सरकारी प्रयास र सोहि अनुरुपको संरचना तथा कार्यान्वयन हुनुपर्थ्यो। हाम्रो देशका बिबिध क्षेत्रहरुको भौगर्भिक अध्ययन गरेर कहाँ बस्ति बसाउन हुन्छ कहाँ हुदैन भन्ने निर्क्यौल गरि कार्यन्वयन गर्नुपर्थ्यो। भवनसंहिताको कार्यान्वयनको कुरा त मात्रै नक्सा पासका लागी चाहिने नक्सामा मात्र सिमित रहेको अबस्थामा अन्य कुनै पनि तयारी हामिले गरेका थिएनौं भन्दा अत्युक्ति नहोला। 

यस भुकम्पबाट हामी किन बलियो भएका छौं त?

हाम्रा पुर्खाले धेरै ठुला भुकम्पहरु भोगेका थिए, (हुन त बि सं २०४५मा पुर्बमा गएको भुकम्प पनि सानो थिएन) त्यस अबस्थाको हाम्रो समाज, बिज्ञानमा हाम्रो तथा बिश्वकै पहुँच र लगानी तुलनात्मक रुपमा कम थियो त्यसैले हामीबिचमा यस्तो भुकम्प यति सालमा गयो करिब यति मानिस मरे भन्ने मात्र तथ्यांक रह्यो, यसका बिबिध बैज्ञानिक खोज तथा अनुसन्धानका लागी उपयोगी कुनै पनि तथ्यांक हामीसंग थिएन। बिज्ञानको बिकास समयक्रम संगै भइरहेको छ, तर भुकम्पको हकमा खोज र अनुसन्धानहरु जति बिश्वब्यापी सबै तिर लागु हुने खालका हुन्छन त्यो भन्दा धेरै आबश्यकता हामीलाई आफ्नै ठाऊँको खोज, अनुसन्धान, यसको प्रकृति, भविष्यमा आउन सक्ने कम्पनहरुको प्रकृति आदिको छ। 
अहिलेको भुकम्पमा पनि हामीले देख्न सक्छौं के सबै ठाऊँमा घरहरु उहि प्रकृतिमा भत्केका छन र? उस्तै प्रकृतिका घरहरु पनि किन कहिं भत्किएका छन कतै छैनन त? घर या संरचना भत्कने या नभत्कने भन्ने पहिले कुरो यो कति बलियो छ भन्नेमै भर पर्यो तर यस संगै अर्को महत्वपुर्ण भनेको यो कस्तो ठाउँमा बनेको छ, त्यस ठाउँले भुकम्पिय कम्पन संग कस्तो ब्यबहार गर्छ? धेरै हल्लिन्छ या थोरै, छिटो या ढिलो भन्ने कुराहरु पनि मुख्य हुन्छन। यदि हामीले बेलैमा भुउपयोग निति लिएर यसको कार्यान्वयन गरेको भए आज निकै कम मात्र क्षति हुने थियो।
यसपटकको महा भुकम्प र यसका पराकम्पनहरुले बिश्वभरिका बैज्ञानिकहरुको ध्यान खिचेको छ। अध्ययन अनुसन्धानका लागी आबश्यक तथ्यांकहरु संकलन भएका छन, बिशेसगरि बिभिन्न ठाउँको भुकम्पिय कम्पनको डाटा जुन निकै महत्वपुर्ण हुन्छ। अब नेपालकै बारेमा नेपाली तथा बिदेशी धेरै अनुसन्धानकर्ताहरुले काम गर्नेछन, हामीले हाम्रै देशको बिबिध बैज्ञानिक तथ्यांकहरुका आधारमा भवनहरुको डिजाईन गर्ने, जमिनहरुको बर्गिकरण गर्ने र सोहि अनुरुप निर्माण गर्ने काम अब सहज हुनेछ। यस अघि आबश्यक डाटाहरुको अभावमा हामीले अन्य देशका संहिताको आधारमा रहेर बवन संहिता बनाएका थियौं तर अब हामी आफ्नै भौगोलिक आधारमा यसो गर्न सक्छौं। 
अबको समय पुन निर्माणको हो तर यो ब्यबस्थित हुनुपर्छ, यो नबनिर्माण हुनुपर्छ। हामीले पहाड देखी तराई सम्मका बिबिध क्षेत्रहरुको प्रारम्भिक अध्ययन गरी केही महिना भित्रैमा धेरै जोखिम हुने क्षेत्रका बस्तिहरु सामाजिक, सांस्कृतिक पाटोलाई समेत ख्याल गर्दै स्थानान्तरण गर्नुपर्छ। निर्माण र डिजाईनमा नयाँ आचारसंहितहरु बनाएर कडाईका साथ लागु गर्नु पर्छ। हाम्रै स्थानिय सामाग्रिहरुकै प्रयोग गरेर कसरी बलिया घर या अन्य संरचना बनाउने भन्ने बारेमा अब अनुसन्धानहरु हुनुपर्छ।
हामीले हेर्न सक्छौं ठुला ठुला भुकम्पहरु गईरहने देशहरुमा अहिले सुनामी बाहेक भुकम्पकै कारण ज्यान जाने क्रम निकै कम छ जहाँ बैज्ञानिक अनुसन्धानहरुलाई बढावा दिएर आबश्यक संहिता लागु गरिएको छ। भुकम्प आउने क्रम रोक्न सकिदैन तर क्षति निकै कम गर्न सकिन्छ। अझै केही समय पराकम्पनहरु रहिरहन सक्छन तर पनि मुख्यकुरा हामी अब मानसिक रुपमा कमजोर हुदै जानु हुदैन, यस शोकलाई शक्तिमा बदल्नुपर्छ। अबको पुस्ता भुकम्प संग नडराउने बाताबरण बनाउने जिम्मा हामी सबैको हो। त्यसैले अब हाम्रो आगामी पुस्ताले यस्तो त्रासदी र बिपत बेहोर्नुपर्ने छैन भनेर प्रण गरौं सबै पक्षले। 
त्यसैले सबैले भनौं  "We are now Strong, We Will Rise Again"