Sunday, August 3, 2014

सुनकोशी नदि थुनिदा, अहिले देखीएका खतराहरु र केही समाधान

करिब ३० घण्टा भन्दा धेरै समय देखि पहिरोको कारण थुनिएको सुनकोशी नदिको बहाव हिजो नेपाली सेना लगायतको प्रयासमा ड्यामको केही भाग खुलाई पानीको बहावलाई सुचारु गराईएको थियो। करिब १४-१५ घण्टा पानी ताल बनेर बस्दा त्यस ठाउँमा करिब १ करोड १३ लाख ४० हजार घनमिटर पानी जम्मा भएर बसेको थियो (हाईड्रोलोजी डिपार्टमेन्टको रियलटाईम डाटा बाट अगस्ट १ रातिको बार्हबिसेमा भोटेकोशिको बहाव करिब १६० क्युमेक र सुनकोशीमा ५० क्युमेक का दरले १५ घण्टाको हिसाब गर्दा)।
आज बिहान सम्म आएका समाचारहरु हेर्दा नदिले आफ्नो गति लिएको भन्ने देखिन्छ, साथै नागरिक न्युजले प्रकाशितगरेको समाचारमा हिजो बनेको तलाउको लेभल अझै घटेन भनेर भनिएको छ।
यसै सन्दर्भमा यस संबन्धि बिज्ञ नहुदानहुदै पनि आफुले जानेका र बुझेका केही कुराहरु यहाँ शेयर गर्न मन लाग्यो।

 पहिरोको प्रकृति फोटोहरुमा हेर्दा यसले नदिमा बनाएको ड्याम सयमिटर भन्दा धेरै फैलिएको जस्तो देखिन्छ जसको बिच भागमा मुख्यरुपमा माथीबाट आएका चट्टानहरु रहेको र त्यसको तल र माथिपट्टी सिल्ट, ग्राबेल, माटोहरुको पत्र बनेर बसेको हुनुपर्छ। हिजो पानीको बहाव शुरु भएसंगै पानीले आफैले खोतल्दैजाने क्रम पनि शुरु भएसकेको छ। ड्याम भन्दा तल्लो भाग पनि धेरै लामो भएकोले तलबाट खोतलिदै जाने क्रम (Back Erosion) भइरहेको हुनक्छ, यो क्रम शुरुका केही घण्टा छिटो अनि केहि समय अलि ढिलो हुनसक्छ। जुन कुरा त्यस ठाउमा बसेर अबलोकन गर्दा सजिलै थाहा पाउन सकिन्छ। यदि त्यसो पनि भएको छैन भने यो ड्याम स्थाई रुपमै बस्न सक्ने संभावना पनि बढेर जानेछ।
तल्लो भागबाट खोतलिने क्रम संगै ड्यामकै भागबाट पानी चुहिने क्रम पनि बढ्न सक्छ तर माथिल्लो भागको माटोले यसलाई केहि हद सम्म रोकेको हुन्छ। यससंगै ड्यामको आफ्नो स्ट्रेन्थ (बलियोपन) पनि घट्दैजानेछ र ड्याम जुनसुकै बेला फुड्नसक्ने संभावना रहन्छ।

यदि फेरी बम पड्काएर पानी खोल्ने प्रयास गरियो भने: यदि ड्याम स्थायी रुपमै बस्ने खालको रहेछ भने, अहिले सतह घटेन भनेर फेरी बम पड्काउने र खोल्ने प्रयास गरिंदा ड्यामले स्ट्रेन्थ गुमाएर एकै पटक नफुट्ला भन्न सकिन्न। 

मेरो बिचारमा अहिलेको उपयुक्त समाधान:

पहिलो कुरा बिज्ञहरुबाट त्यस क्षेत्रको लगातार अबलोकन भईरहनुपर्छ जुन भइरहेको छ भन्ने बिश्वास छ। यससंगै माथि ऊल्लेखित दुई कुराहरुको नजिकबाट अबलोकन गरि सोहि अनुरुप कदम उठाउनु जरुरी छ।
पानीले तलबाट खोतल्दै गरेको क्रम:
यदि यो क्रम बढ्दै छ भने जतिसक्दो छिटो पानीको लेभल घटाउने कोशिस गरिनुपर्छ यसका लागी साना साना बिड्फोट पनि गर्नु उपयुक्त हुन्छ किन कि कुनै समय ड्याम फुट्ने लगभग निश्चित नै हुन्छ। संभव हुन्छ भने केही साईफोनहरु (मट्टितेलको ड्रमबाट पाईप लगाएर बाहिर तेल ताने जस्तो) पनि प्रयोग गरेर पानीको सतह केही घटाउदै जान सकिने समय हामीसंग रहन्छ।
यदि खोतलिने क्रम पनि छैन र पानीको सतह पनि घटेको छैन भने निरन्तर अनुगमनमा राख्दै अस्थाईरुपमै भएपनि ड्यामको बाहिरि भागमा हेलीकप्टरहरुको प्रयोगबाट सिमेन्ट पेस्ट छरेर केही बलियो बनाउन सकिन्छ जसले अब पर्ने पानी त्यहाँ छिरेर कमजोर मनाउन नपाओस।

हामीसंग भएका सिमित श्रोत साधनहरुबाट जति संभव छ हामिले त्यो ड्याम कति बलियो छ र यसमा के केति फरक परिरहेको छ भन्ने परिक्षण र अनुसन्धान गरिरहनु पनि जरुरी छ। यसका लागी कमसेकम हामीले सरकारसंग भएका सेस्मोमिटरहरु (भुकम्पको कम्पन मापन गर्न प्रयोग गरिने यन्त्र) २-३ वटा प्रयोग गर्न सक्छौं जसले जमिन भित्र भइरहेको कम्पनको जानकारी दिईरहन्छ। यसको प्रयोग तत्काल गर्न सकिने अबस्था छ जसबाट कुन रुपमा ड्यामको भित्रि भागमा या  नजिकैको अन्य स्थानमा परिबर्तन आईरहेको छ भन्ने करिब पत्ता लगाउन सकिन्छ। यसका लागी ड्यामकै माथि गएर मापन गर्न त सकिदैन तर छेउको नजिकको सुरक्षित ठाउँबाट मापन गर्न सकिन्छ।

हामी बिचमा हिजै हुनसक्ने अर्को भयानक बिपत्ति केहि समय धकेलिएको छ तर यो समय नेपालका बिज्ञहरुको लागी निकै चुनौतिपुर्ण समयपनि हो जसले आफुलाई प्रमाणित गर्ने अबसर साथै ठुलो बिपत्तिबाट देशलाई बचाउने अबसर हो।
आशा छ सरकारी तबरबाट हुने सक्रियता र अध्ययनमा अझै सुधार आउदै यसलाई सुरक्षित तवरबाट टुंग्याउन सबै पक्ष सफल हुनेछन।

Monday, June 2, 2014

सुरुङका कुरा: जापानमा यस्तो छ, नेपालमा कस्तो बन्ला?

नेपालका पत्रपत्रिकामा जापान सरकारले काठमाण्डौं जोड्ने त्रिभुवन राजपथको नागढुंगा खण्डमा सुरुङमार्ग बनाउन सघाउने बन्ने खबर पढ्न पाईयो। नागढुंगामा घण्टौं लामो जाम भोगेको आफुलाई पनि निकै खुशी लाग्यो, अन्य नेपालीलाई जस्तै। 
नेपालमा सुरुङमार्गका कुरा एक किसिमले नौलो छैन मात्र कुरामा किनकि हामीले केहि बर्ष देखी सुन्दै आइरहेका छौं काठमाण्डौं-हेटौंडा सुरुङ मार्ग (?) छिट्टै बन्ने भनेर तर यसले मुर्त रुप पाउने कुरामा शंका नै छ किनकी यसले आबश्यक लगानी जुटाउन सक्ने देखिएको छैन अहिलेसम्म। कतै यो योजना सरकारी लगानिमा बन्न लागेको फास्ट ट्र्याकलाई पछाडी धकेल्ने मात्रै उदेश्यले त आएको होइन? भन्ने केहि शंकाहरु बजारमा देखिन्छन आशा गरौं त्यस्तो गल्ती कुनै पनि जिम्मेवार नेपालीले गर्दैनन भन्ने बिश्वास गरौं।
जापान नेपाल जस्तै पहाडै पहाडको देश हो, ठुला शहरहरु समुद्रको तटमा रहेकाले बस्तीहरु प्राय पहाडमा छैनन तर एक शहर र अर्को शहर जोड्नको लागी पहाड छिचोल्नै पर्छ यहाँ रहेका द्रुत राजमार्गहरु र रेलवेका लाईनहरु यस्तै पहाडहरु छेडेर जानुपर्ने हुनाले यहाँ यस्ता हजारौं सुरुङमार्गहरु छन र बन्दै पनि छन। यहाँका द्रुत राजमार्गहरुको संजाल सबै शहरहरु सम्म बिस्तारित छ जसमा गाडी चलाउँदा पैसा तिर्नु पर्छ। राजमार्गका ठाऊँ र सवारीको प्रकार हेरी लाग्ने रकम फरक हुन्छ। जस्तै क्योटो शहरको साईडबाट गएको १ नं रुटमा ३९.७ किमि को १३३० जापानी एन पर्छ। जापानका यस्ता राजमार्गमा कहाँबाट कहाँ पुग्न कति रकम लाग्छ भन्ने  जान्न मन लागे यहाँ गएर हेर्न सक्नुहुन्छ
नागढुंगा क्षेत्रमा बनाईने भनेको करिब २.५ किमि सुरुङको कुरा आज आफ्नो यात्राको क्रममा यस्तै सुरुङ पार गर्दा फेरी सम्झिएँ त्यसैले यसबारेमा थोरै फोटोहरु शेयर गर्न मनलाग्यो। आफुले उतिबेला क्यामेरा नबोकेको कारण पनि केहि नरमाईलो लागेको थियो, हुनत ८० किमि प्रति घण्टा भन्दा धेरै गतिमा हुँइकिने सवारिबाट भनेजस्ता फोटा खिच्न पनि गार्है हुने थियो तर गुगल ले आफ्नो म्यापमा यहाँको बाटोको सबै चित्रहरु राखिसकेको हुनाले गुगल म्यापकै सहयोगमा केही फोटाहरु लिएर यहाँ राखेको छु। तपाईंलाई पनि आफैंले हेर्न मन लाग्यो भने तलको म्यापमा  गएर हेर्न सक्नुहुन्छ।
क्योटो शहरको एक साइडमा बनेको यो द्रुत मार्गमा धेरै सुरुङहरु छन, यहाँ निशियामा टनेलका केहि फोटाहरु देखाइएका छन जुन २.२७ किमि लामो छ। यसको बिचबाट बाहिर निस्कन सकिने द्वार पनि छ। सुरक्षाका हिसाबले आबश्यक सम्पुर्ण ब्यबस्था गरिएको छ।

Monday, April 28, 2014

चिलिको महाभूकम्प र यसबाट नेपालले सिक्नुपर्ने पाठ

नेपाली समयानुसार १९ चैत्र २०७० बिहान करिब ५:३० बजेको समयमा दक्षिण अमेरिकी राष्ट्र
चिलिमा ८.२ रिक्टरस्केलको भूकम्पले धक्का दियो, जसका कारण करिब २ मीटर अग्लो सुनामीको छाल तटीय क्षेत्रसम्म आईपुग्यो। चिलि तटीय राष्ट्र हो साथै यो भूकम्पीय हिसाबले निकै जोखिम क्षेत्रमा पर्दछ। करिब ३ वर्ष अघि सन २०१० मा ८.८ रिक्टरस्केलको भूकम्प र त्यसपश्चात उठेको करिब १० मीटर अग्लो सुनामीका कारण करिब ५५० मानिसले ज्यान गुमाएका थिए, त्यस्तै सन १९६० मा ९.५ रेक्टरको भूकम्प तथा यसैकारण उत्पन्न सुनामीको छाल (करिब २५ मीटर अग्लो) का कारण करिब ५७०० को मृत्यु भएको थियो।
नेपाल चिलि जस्तै धेरै जोखिमयुक्त क्षेत्रमा पर्दैन तर बिगतको ईतिहास र हाम्रो अवस्थितिले करिब ८०-९० वर्षको अन्तरालमा केही ठुला भूकम्पको धक्का आउने संभावना ज्यादा रहेको अनुसन्धानहरुले देखाउँछन, हिमालय क्षेत्रमा पर्ने तिब्बति र भारतीय मुख्य चट्टानहरू बिचको सिमानामा हुने द्वन्द (एकले अर्कोलाई धकेल्ने) मा कुनै एकले हारेको दिन वा भनौं कुनै एक चट्टानले भार थेग्न नसकेको दिन दुवैको सञ्चित बल कुनै एकमाथि अर्को परेर या चट्टानहरू फुटेर बाहिर निस्कनेछ जसले चट्टानका साथै जमिन हल्लाउनेछ।
नेपालमा भूकम्पको इतिहासहेर्दा धेरै सम्झिने भूकम्प सन १९३४ (बि. सं. १९९० साल माघ २ गते) को हो, जसका कारण नेपालमा मात्रै करिब २९,४४५ ले ज्यान गुमाएका थिए जसमध्ये काठमाण्डौमा मात्रै करिब १६,८७५ को मृत्यु भएको थियो। त्यस्तै पछिल्लो उदाहरण सन २०११ को सिक्किम ताप्लेजुङ बिचमा गएको ६.९ रिक्टरको भुइचालोका कारण नेपालमा ११ जनाले ज्यान गुमाउनुपर्यो। यसबिचमा पनि २०४५ साल लगायत समयमा ठुलासाना धेरै भूकम्पहरू गइसकेका छन। फेरि पनि नेपालमा कुनै ठुलो भूकम्प दैलोमा चिहायर बसिरहेकोछ र यो कुन दिन भित्र छिर्छ यकिन रुपमा भन्न सकिने अवस्था छैन। नेपालमा भौतिक संरचनाहरूको स्थिति नाजुक छ भन्ने कुरा बिभिन्न समयमा भएका अनुसन्धानहरूले देखाएका छन। त्यसैले त्यस्तो बेला हाम्रा अहिलेका भौतिक संरचनाहरु घर, बाटो, पुल, खानेपानीका लाईन, टेलिफोन, बिजुलीका लाइनहरु लगभग पुर्णत क्षतिग्रस्त हुनेछन।
चिलिबाट सिक्नु पर्ने कुरा

Monday, January 13, 2014

भुईंचालो!!! नडराउनुहोस,तर पुर्वतयारी र सतर्क हुने की!: सन्दर्भ भुकम्प सुरक्षा राष्ट्रिय दिवस


नेपाल भुकम्पीय जोखिमको हिसाबले निकै नै माथि छ जहाँ जुनसुकैबेला बिनासकारी भुइचालो आइदिनसक्छ। १९९० साल, माघ २ गतेपछिल्लो निकै ठुलो भुइचालो आयो र हजारौंको ज्यान गयो,त्यही दिन अर्थात अंग्रेजी मिति १५ जनवरीमा अहिलेसम्म १९९३मा जापानमा ७.६ रेक्टरको भुइचालो जादा २ जना मरे भने, सन १९६८मा सिसिलि (ईटालीको दक्षिणमा छ) ५.४ रेक्टरको भुइचालोकै कारण २१६ले ज्यान गुमाउनुका साथै लगभग ३०० मिलियन डलरको क्षती भयो। अर्जेन्टिनमा पनि ७.४ रेक्टरको भुईचालो जादा करिब १०,००० को मृत्यु भयो। जापानमा ठुलो भुइचालो जादा पनि किन मानिस धेरै कम मर्नुका साथै जनधनको कम मात्रै क्षति भयो त? पहिलो कुरो त यो भुइचालो समुद्रमा केन्द्रबिन्दु भएर गयो र मानव बस्तीभन्दा टाढा हुनाले धेरै क्षति हुन पाएन तर मुख्य कुरो चाहिं त्यहाँका मानिस सतर्क र तयारी अवस्थामा हुन्छन साथै संरचनाहरू पनि भुकम्प प्रतिरोधी बनाएका छन। सन २०११ को महाभुकम्पमा पनि सुनामीका कारण मात्रै ठुलो क्षती भएको हो अन्यथा खासै तुलनात्मक रुपमा ठुलो असर गरेको थिएन। 
नेपालमा गएको त्यही बिनासकारी भुकम्पको सम्झनामा मनाउने गरिएको यो भुकम्पीय सुरक्षा दिबसले कमसेकम वर्षको १ पटक मानिसहरूले भुकम्पको बारेमा चासो राख्ने बनाइदिएको छ (भुईचालो गएको दिन बाहेक)। सरकारले यसलाई साप्ताहिक रुपमै मनाउन लागेछ त्यसैले मैले पनि यो ब्लग माघ २भन्दा पहिले नै लेखेको हुँ। खासै यस्ता कुरामा धेरैको ध्यान त जादैन तैपनि मैले केही सरल शैलिमा यस सम्बन्धी केही जानकारी दिन खोजेको छु, कति सफल हुन्छु त्यो मूल्यांकन तपाईकै जिम्मामा छ है। 
खास के हो त भुईचालो? शब्दले नै भनेअनुसार भुइँ चल्नु या जमिन हल्लिनु... यो नै हो हामीले महसुस गर्ने भुकम्प या भुइचालो। पृथ्बिको मध्ये भित्रि भागमा रहेको तरल म्याग्मा, लाभा आदिको आन्तरिक बहाबले बाहिरि भागमा रहेका चट्टानहरू एक आपसमा धकेलिएर बसिरहेका हुन्छन या भनौं सिंगौरी खेलिरहेका हुन्छन, जुनबेला कुनै एकले धान्न सक्दैन तब एकैचोटि एकमाथि अर्को खप्टिन पुग्छ या छुट्टिन पुग्छ जसका कारण जमिनमा कम्पन उत्पन्न हुन्छ। ठुला चट्टान बिचमा मात्रै होइन एउटै चट्टान भित्र पनि बिभिन्न ठाउँमा धाँजाहरू फाटेका हुन्छन जसका कारण पनि भुईचालो जानसक्छ। धेरै वर्ष पहिले पृथ्वीमा एउटैमात्र टापु थियो, समय क्रममा छुट्टिदै जादा अहिलेको अवस्थामा आइपुगेको पनि भनिन्छ। भुइचालो सम्बन्धी मैले लेखेको नागरिक दैनिकमा छापिएको लेख हेर्न यहाँ क्लिक गर्नुहोस।

भुकम्प संबन्धि सामाजिक संजालमा गरिएको सर्भेको नतिजा हेर्न मन लागे यहाँ क्लिक गर्नुहोस। जहाँ धेरै मानिसले सुरक्षित रहने उपायबारे अनभिज्ञता देखाएको साथै ंभुकम्प प्रतिरोधी घर बनाउने बारेको नियम पनि थाहा नभएको बताएका छन।

हेरौं युएनले तयार पारेको काठमाण्डौ उपत्यकाको लिक्विफ्याक्सन जोखिम नक्सा
काठमाण्डौं उपत्यकाको लिक्विफ्याक्सन जोखिम नक्सा (त. सा. युएन)
लिक्विफ्याक्सन भनेको सरल भाषामा माटो तरलिकृत हुने प्रकृया नै हो, विशेष गरी नदी छेउ बलौटे तथा कालो माटो भएको ठाउँमा भुइचालोको कारण हल्लिदा तलको पानी माथि आउने र माटो थलथल हुने गर्छ, केही धान्न सक्दैन अनि त्यस क्षेत्रका संरचना ढल्न पुग्छन। माथि तस्विरमा देखाइएको रातो भाग बढी जोखिम युक्त क्षेत्र हो, पहेंलो केही कम हो भने सेतो नभएको....

Monday, January 6, 2014

भुकम्प सम्बन्धि सर्भेको नतिजा: जनचेतना अझै बढाउनु जरुरी छ की!!

केहि महिना पहिले सामान्य भुकम्प सम्बन्धि सर्भे गरिएको थियो, जसमा प्राप्त जम्मा करिब ४०० उत्तरहरुबाट केहि अपुर्ण, साथै नेपाल बाहिरका सहभागिका उत्तरहरु समाबेश नगर्दा जम्मा ३०५ सहभागिहरुको प्रतिक्रियाका आधारमा नतिजाहरु देखाइएको छ। (सामाजिक संजालमा यो स्याम्पल धेरै सानो हो तर पनि प्रतिनिधिमुलक रुपमा यसले धेरै हदसम्म समेटेको अनुमान गर्न सकिन्छ।)


हेरौं पाइचार्टमा केहि नतिजा हरु

यि माथिका केहि नतिजाहरु हेरौं जसमा देखिए अनुसार फेसबुकबाट सबैभन्दा धेरै र त्यसपछि ट्विटर, दुबै अनि अन्य सामाजिक संजाल प्रयोगकर्ताहरु यसमा सहभागी हुनुभयो जसमा उमेरका हिसाबले युबा पुस्ताको नै बर्चस्व रह्यो, मुलत पुरुष मित्रहरु धेरै यसमा सहभागी हुनुभयो र महिला मित्रहरु निकै कम ७% मात्रले सहभागिता जनाउनु भयो। यि त भए सहभागिताका कुरा, अब कुरा गरौं भुकम्प संबन्धि ज्ञान वा जानकारीका... 
भुकम्पबारे धेरैले स्कुले जिवनमानै सामान्य जानकारी पाएको देखिन्छ या भनौं सुनेको मात्र पनि हुनसक्छ, यस्तै तपाईबस्ने घर के ले बनेको छ भन्ने प्रश्नको प्रतिक्रियाले केहि सोचनीय बनायो, के लाग्यो भने धेरै मानिसले आफ्नो घर पिलर सिस्टमको हो हैन भन्नेकुरा द्विधामा परेको हो की काठमाण्डौं उपत्यका भित्र हामिले भनिने र बुझिने पिलर सिस्टमकै घर धेरै छन तर यहाँ देखिएको नतिजाले इट्टाले बनेको घर धेरै देखियो, हुन त काठमाण्डौं बाहिरको आफ्नो घरको कुरा गरिएको हुन सक्छ (प्रश्नमा तपाई बस्ने घर भनिएको थियो जसको अर्थ हाल बसिरहेको नै हुन्छ जस्तो लाग्छ) या त नबुझेकै हुनु पर्यो। जब कुनैघरमा पिलर र बिम बनाईसकेपछि इट्टाको गार्हो लगाईन्छ (तर ठेकेदारहरुले सजिलोको लागि पिलर उठाएर वाल लगाएर मात्र स्ल्याब र बिम ढलान गर्ने पनि गर्छन त्यो सजिलोको लागी मात्रै हो त्यसरी बनाउदैमा त्यो घर वाल सिस्टममा बनेको हुदैन) या भनौं कुनै पनि घरको मुख्य भार बिम र पिलरले लिन्छन त्यस्ता घरहरु पिलर सिस्टममा बनेका भनिन्छ।

भुकम्प संग डर लाग्छ भन्ने लगभग सबै सहभागि मध्य ६०%लाई आफु बसिरहेको घर सामान्य भुइचालोबाट सुरक्षित छ जस्तो लाग्छ तर केहिलाई मतलब पनि रहेनछ जे सुकै होस। उता घर सुरक्षित छैन भनेर चिन्तालिने १६% हुनुहुन्छ भने थाहै भएन के पो छ भन्ने चाहिं २२%। आफ्नो ठाउंमा भुकम्प प्रतिरोधि घर बनाउनु पर्ने ब्यबस्था छ छैन भन्ने कुरा झन्डै आधा(४६%)लाई थाहा नभएको पाईयो, हुनत घरको मुख्य मानिसलाई जसले घर बनाउदै हुनुहन्छ उहाहरुलाई मुख्य रुपमा थाहा हुनुपर्छ तर पनि समाचार अनि बिभिन्न सुचनाहरुबाट सुसुचित हुने युबा बर्गकै धेरैलाइ यो कुरा थाहा नहुनु वा छैन भन्नु सुचनाको राम्रो (ब्यबस्थापन?) नभएको पो हो कि? भुकम्पिय सुरक्षा सम्बन्धी पुर्ब तयारीको बारेमा आधा भन्दा धेरै(५३%)ले राम्रै थाहा भएको कुरा राख्नु भयो भने ५%लाई केहि पनि थाहा नभएको पाइयो र बाकीलाइ थोरै मात्रै थाहा रहेछ। काठमाण्डौंमा सरल भाषामा बुझिदै आएको ७ रेक्टरको भुइचालो गयो भने हजारौं को हताहति हुने कुरा धेरै(४६%)लाई लागेकोछ भने १८% लाई लाखौको ज्यान जाने चिन्ता छ जबकि ९% लाइ त १०० भन्दा पनि कम मर्लान भन्ने बिशवास रहेछ र २७% लाइ सयौंमा यस्तो हुनसक्ने आंकलन छ। धेरैलाई लागेको जस्तै भुकम्पिय जोखिमका हिसाबले धेरै नै हजारौंमा मानिस मर्ने संभावना हुन्छ, हुन त भुकम्प जाने समयले पनि फरक पार्छ जस्तो कि राति गयो भने धेरै मानिसको ज्यान सक्छ जति दिउसो या बिहान बेलुका हुदा जान सक्छ तर पनि ७ रेक्टरको आउदा ( यो पनि कति पर केन्द्र बिन्दु रहेको छ त्यसले फरक पार्छ) केहि सय मात्रै मर्लान भनेर जोखिम न्युनिकरण नगरि बसियो भने बिकराल समस्या हुन सक्छ।
भुइचालोको भोगाई धेरैका धेरै थरि पाईए, कसैलाई पिङ खेलेजस्तो लागेछ, कोहि रिंगाटा लागेर लड्नुभएछ त कोही आत्तिदै भाग्नु भएछ। कोहि खाना पकाउदै गर्दा थाहा पाएको भन्नुहुन्छ भने कोहि रोकेको गाडिमा हुनुहुन्थ्यो रे पहिलो पटकको भुइचालो थाहा पाउदा। भुइचालो गएको थाहा पाउनासाथ के गर्ने त भन्ने कुरामा धेरैले केहि लेख्नु भएन तर लेखेका मध्य धेरैले सुरक्षित ठाउंमा लुक्छु भन्नु भएको छ भने कोहि भाग्छु भन्ने पनि देखियो जुन सोचाइ खतरामुक्त होइन है।

यसरी आएका बिभिन्न कुराहरु हेर्दा मानिसहरु जानकार हुन खोजेको तर राम्रो जानकारी हुन नसकेको हो की? नेपाल र त्यसमाथि काठमाण्डौंमा भुकम्पिय जोखिम ज्यादा भएको क्षेत्रमा सामान्य भुकम्पिय सुरक्षा संबन्धि जनचेतना अलि धेरै जगाउनु जरुरी देखिन्छ।

यस सर्भेमा भाग लिनुहुने तपाई सबेलाई हार्दिक धन्यबाद दिन्छु साथै फेसबुक तथा ट्विटरमा शेयर गरेर सहयोग गरिदिनुहुने सालोक्य, गुणराज सर, नारायण दाजु, काकाबा, प्रमोदजी साथै सबै जना (सबैको नाम लेख्न सकिन दुख नमान्नुहोला ) प्रति आभारी छु।

भुकम्प सम्बन्धि अन्य लेखहरु